काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. विक्रम तिमल्सिनाले अन्तर्राष्ट्रिय दूरसञ्चार संघ (आईटीयू) को प्लेनिपोटेन्सियरी सम्मेलन (PP-26) मा नेपालको सहभागिता अर्थपूर्ण र प्रभावकारी रहेको बताएका छन्।
कतारको दोहामा भएको सम्मेलनबाट फर्केपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारसँग कुरा गर्दै उनले नेपालले विकासशील देशमा डिजिटल खाडल घटाउने र उदीयमान प्रविधिमार्फत पहुँच विस्तार गर्ने विषयमा धारणा राखेको जानकारी दिए। सूचना प्रविधिमा पहुँच विस्तार हुनुपर्नेमा विभिन्न कारणले उल्टै खुम्चिँदै गएको उनको भनाइ थियो।
छ देशसँग द्विपक्षीय भेटवार्ता
सम्मेलनको अवसरमा मन्त्री तिमल्सिनाले मलेसिया, इस्टोनिया, कतार, चीन, भारत र रुसलगायतका देशका मन्त्री तथा उच्च अधिकारीसँग भेटवार्ता गरेका थिए। भेटमा नेपालको आवश्यकता र हितअनुसार सूचना प्रविधि तथा दूरसञ्चार क्षेत्रमा सहकार्यबारे छलफल भएको थियो।
इस्टोनियाले सार्वजनिक सेवा प्रवाहलाई प्रविधिमैत्री, पारदर्शी र नागरिकमुखी बनाउन विकास गरेको प्रणाली नेपालका लागि उपयोगी हुन सक्ने उनको धारणा छ।
विपद्मा सञ्चार र एआईको नयाँ खाडल
नेपालका तर्फबाट प्रस्तुत नीतिगत वक्तव्यमा मन्त्री तिमल्सिनाले बाढी, पहिरो र भूकम्पजस्ता विपद्मा सञ्चार सेवाको महत्त्व बढ्दै गएको उल्लेख गरे। उनले आर्टिफिसियल इन्टेलिजेन्स र 5G का क्षेत्रमा नयाँ डिजिटल खाडल देखिन थालेको भन्दै विकासशील र अल्पविकसित देश पछाडि नपरून् भनेर लक्षित प्राविधिक सहयोग, प्रविधि हस्तान्तरण र सहुलियतपूर्ण वित्तीय सहयोग आवश्यक रहेको बताए।


























